पाँचपोखरी थाङपाल गाउँपालिका वडा ३ भोताङ यार्सामा प्रत्येक हप्ताको शनिवार तरकारी हाट बजार चल्छ । तामाङ समुदायको बाहुल्यता रहेको यहाँका कृषक आफनै पुख्र्यौली जमिनमा उत्पादित सामाग्रीले परम्परागत हाट बजारलाई चलाउँछन् ।
हाट बजारबाटै मासिक ३० हजारसम्म आम्दानी गरिरहेका भोताङबासीको प्रत्येकको घरमा फरक प्रकारको तरकारी, फलफुलका बिउबिजनको उत्पादन हुने गर्छ । आफैले उब्जाएको तरकारी, अन्न र विउ विजन हाट बजारमा बिक्री गर्दा स्थानीय सामान तथा बस्तुको प्रवद्धन हुने वडा अध्यक्ष ङिमा छिरीङ तामाङले बताउनुभयो ।
हाट बजारको परम्परासंगै प्रत्येक घरमा मासिक ७० हजारसम्म आम्दानी हुने उहाँले जानकारी दीनुभयो । प्रत्येक हप्ताको शनिवार हाटबजारमा आवश्यक सामाग्री किन्न भनेर भोताङदेखि मेलम्ची क्षेत्रका स्थानीय र व्यवसायी आउने गरेको उहाँले बताउनुभयो ।
पाँचपोखरी, हेलम्बु, इन्द्रावती र मेलम्ची नगरको लागि आवश्यक सामाग्रीको केन्द्र मेलम्ची बजार नै हो । भोताङबाट झण्डै २३ किलोमिटर कच्ची सडकको दुरीमा मेलम्ची बजार जोडिन्छ । हाट बजारमा काउली, बन्दा, प्याज र लसुन लगायतका तरकारीका बेर्ना बिक्री गरेर हप्तादिनमा १५ हजारसम्म कमाइ गरेको स्थानीय क्ष्याल्जेन तामाङले बताउनुभयो ।
उनकानुसार हाटबजार पुन संञ्चालनमा आएपछि गाउँमा उत्पादित बस्तु एउटा पनि खेर गएको छैन । कसैले घरमै अचार बनाएर बिक्री गर्छन् । कसैले बिउबिजन र तरकारी विक्री गर्ने गरेका छन् । पाँचपोखरी थाङ्पाल–३, भोताङ यार्साकी ६६ वर्षिया लाक्पा तामाङले आफैले उत्पादन गरेको तरकारी मात्रै बेचेर ६ जनाको परिवार पाल्नुभएको छ । ‘हाटबजारमा तरकारी बेचेर १८ हजार कमाउछु, बजारले जिविको धानेको छ,’उहाँले भन्नुभयो । पढाई गर्न नसके पनी आफुलाई पुग्ने आम्दानी भएकोले आफु यसैमा सन्तुष्ट भएको उहाँको भनाइ छ ।
भुकम्पपछि लामो समय पुनर्निर्माणमा व्यस्त भोताङमा हाट बजार चल्न सकेन् । परम्परागत बजार नचल्दा स्थानीय एकदमै चिन्तित देखिए । विभिन्न संघसंस्थाको सहयोगमा किसानहरुलाई फेरी हाटबजार सञ्चालन गर्न सहज भएको हो । यार्सा टोलमा रहेका एकसय १९ परिवारले आफ्नो उब्जनी कृषि उत्पादनलाई भोताङ हाट बजारमा बेच्ने गरेका छन् ।


