सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अहिले एउटा यस्तो प्रशासनिक प्रयोगशाला बनेको छ, जहाँ नियम र व्यवहारका बीचमा ठूलो खाडल देखिएको छ। देशभरका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत (हाकिम) नपाएर रित्तिएका बेला इन्द्रावतीमा भने ‘एकै कुर्सीका लागि दुई हाकिम’ को स्थिति पैदा भएको छ।
गाउँपालिकामा वर्तमान हाकिम मनहरी बराल र नयाँ सरुवा भई आएका दानबहादुर ऐडी का बीचको तानातानले पालिकाको ‘चेन अफ कमाण्ड’ नै ध्वस्त पारेको छ।सरुवा भए पनि बढुवापछि दरबन्दी नतोकिएकोले काम गरिरहेको बरालकाे तर्क रहेकाे छ। माघ २६ गते नै हाजिर गरेर जिम्मेवारी नलिई बिदामा बसेको ऐडीकाे तर्क रहेकाे छ। एउटै कार्यालयमा दुईवटा हाजिर हुनुले कर्मचारी प्रशासनमा कस्तो थिति बसाल्छ ? यो प्रश्न अहिले पेचिलो बनेको छ।
गाउँपालिकामा मनहरी बराल कार्यरत हुनुहुन्छ। एक महिना अघि नै उहाँको सरुवा भए पनि उनी सरुवा भएको कार्यालयमा हाजिर हुन गएकाे पाइदैन। यसबीचमा बरालको बढुवा भयो, तर दरबन्दी तोकिएको छैन। दरबन्दी नतोकिएकै कारण उहाँ हालकै कार्यालयमा पूर्ण भूमिकामा काम गरीरहनुभएकाे छ । बराल यसलाई सामान्य प्रशासनिक प्रक्रिया बताउँदै ‘यस्तो अन्त पनि हुने’ तर्क गर्दै आउनुभएकाे छ । यसैबीच दानबहादुर ऐडीको इन्द्रावतीमा सरुवा भयो। गत माघ २६ गते सरुवाको २१ दिन पूरा भएपछि उहाँले सोही दिन हाजिर गर्नुभयाे, तर एक हप्ताको बिदा लिएर पुरानै कार्यालय फर्किनुभयाे। ऐडीले हाजिर गरे पनि कुनै जिम्मेवारी सम्हालेकाे पाइदैन। परिणामत: नयाँ अधिकृत आइसकेपछि पनि पुरानैले सबै काम गरिरहेकाे पाइएकाे छ ।
नयाँ हाकिमले हाजिर गरिसक्दा पनि पुरानै हाकिमबाट धमाधम चेक काटिनु र भुक्तानी हुनुले वित्तीय जोखिम बढाएको छ। १३ भन्दा बढी उपभोक्ता समिति र खरिद सामग्रीको भुक्तानी अहिलेको ‘ग्रे एरिया’ (अस्पष्ट समय) मा हुनुले अनियमितताको आशंका उब्जाएको छ। नयाँ अधिकृत आउँदा बैंक खातामा हस्ताक्षर परिवर्तन नहुनुले आर्थिक जवाफदेहितामाथि प्रश्न उठाएको छ।
गाउँपालिकाको विकासको ऐना मानिने पुँजीगत खर्चको अवस्था निराशाजनक छ: कुल खर्च २६ करोड (कुल बजेटको २६%) प्रतिशत भएकाे छ । जसमा शिक्षक तलब १३ करोड रहेकाे छ भने पुँजीगत खर्च ३ करोड ६० लाख मात्र भएकाे छ । यो तथ्याङ्कले गाउँपालिका विकासभन्दा पनि प्रशासनिक अल्झन र साधारण खर्चमै केन्द्रित रहेको देखाउँछ।
गाउँपालिकामा यति ठूलो प्रशासनिक “डेडलक” सिर्जना हुँदा समाधानको पहल गर्नुपर्ने अध्यक्ष झम्क नेपाल भने एक गैरसरकारी संस्थाको कार्यक्रममा भारत भ्रमणमा रहनुभएकाे ५ । कार्यपालिकाको नेतृत्व र प्रशासनिक नेतृत्वबीच समन्वय नहुँदा जनताको काम र पालिकाको छवि दुवैमा असर परेको छ। स्थानीय सरकारको मुख्य आधार ‘सुशासन’ र ‘जवाफदेहिता’ हो। इन्द्रावतीको यो प्रकरणले “एक म्यानमा दुई तरबार” मात्र होइन, बरु नागरिकको विश्वासमाथि नै प्रहार गरेको छ।
जिम्मेवारीको यो अस्पष्टताले भविष्यमा कानुनी र आर्थिक संकट निम्त्याउन सक्ने देखिन्छ। अघिल्लो कार्यपालिका बैठकले विदेश भ्रमण स्वीकृत गरेको भए पनि सो भ्रमण स्थगित भएको जानकारी हाकिमलाई थियो। तर सोही कार्यक्रम पुनः सञ्चालन हुँदा आफू विदेश जाने मिति बारे जानकारी नभएको बरालको दाबी छ। अध्यक्ष विदेश गएको कुरा गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले पुष्टि गर्नुभएकाे छ । (श्राेत खुल्लापाना डट कम)

