बाँसखर्क,
नेपाली कांग्रेसका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ सिन्धुपाल्चाेकका उम्मेद्वार बंशलाल तामाङले पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरूवामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा बोल्दै उहाँले पाँचपोखरीको बिकट क्षेत्रलाई सुगम बनाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो।
“तपाईँहरूकाे विश्वासलाई निराश बनाउने छैनु,” उहाँले भन्नुभयो, “यहाँबाट पाएको अपार माया र सम्मानले म अत्यन्त हर्षित छु।” उहाँले नेपाली कांग्रेसले जित हासिल गरेपछि यस क्षेत्रमा गुम्बा, मठमन्दिर तथा सडक निर्माणका धेरै कामहरू सम्पन्न भएको उल्लेख गर्दै बाँकी रहेका विकास निर्माणका कामहरू आगामी दुई वर्षभित्र पूरा गर्ने जिम्मा आफूहरूले लिने स्पष्ट पार्नुभयो। उम्मेद्वार तामाङले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रको मुख्य सडक स्तरोन्नति गर्ने रहेको पनि बताउनुभयो ।
पाँचपोखरीका दुर्गम बस्तीलाई सहज र सुगम पहुँचमा ल्याउन योजनाबद्ध रूपमा काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ। स्थानीय मतदाताहरूले पनि विकास निर्माणका कार्यलाई तीव्रता दिन आग्रह गरेका थिए ।

