सिन्धुपाल्चोक ।
नेपाली काँग्रेस सिन्धुपाल्चोकले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। जसमा जिल्ला सभापति जंगबहादुर लामाको नाम दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ सिफारिस भएको छ।
केन्द्रीय कार्यसमितिको परिपत्र र पार्टी विधानको धारा ३२ (८) बमोजिम बसेको जिल्ला र क्षेत्रीय कार्यसमितिको बैठकले लामालाई दुवै क्षेत्रका लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सारेको हो।
दुवै क्षेत्रमा लामाको दाबेदारी
जिल्ला कार्यसमितिले सार्वजनिक गरेको नामावली अनुसार क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत र युवा नेता महेन्द्र लामासँगै सभापति जंगबहादुर लामाको नाम सिफारिस गरिएको छ।
त्यसैगरी, क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति (प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २) ले पनि सभापति लामालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। क्षेत्र नं. २ बाट लामासँगै वंशलाल तामाङ, विकास तामाङ, निमा लामा लगायत १६ जनाको नाम सिफारिसमा परेको छ।
अन्य सिफारिसहरू
क्षेत्र नं. १ (समानुपातिक): डा. प्रेमध्वज लामा, दोर्जे लामा, बलदेव तिमल्सिना सहित १२ जना रहेका छन् ।
क्षेत्र नं. २ (समानुपातिक): शिवबहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनार रहेका छन् ।
राष्ट्रिय सभा: क्षेत्र नं. १ बाट हरिशरण श्रेष्ठ सहित ५ जना र क्षेत्र नं. २ बाट राजेन्द्रमान ताल्चाभँडेल सहित ४ जनाको नाम सिफारिस भएको छ।
दुवै क्षेत्रबाट सिफारिसमा परेसँगै सभापति लामाको राजनीतिक चर्चा जिल्लामा चुलिएको छ। यी नामहरूमाथि थप छलफल र अन्तिम निर्णयका लागि बागमती प्रदेश कार्यसमिति र केन्द्रमा पठाइएको छ।

